विधेयक संसदमा हामी सच्याउँछौँ, आन्दोलनको स्वरुप फेर्नुस्: गगन थापा

gagan thapa

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकलाई लिएर आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका छन् । 

बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेकाले संसदबाट त्यसलाई सच्याउने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ । विद्यालय बन्द नगरौँ ।’ 

महामन्त्री थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ,’ उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’

महामन्त्री थापाले समस्याको समाधानको खोजीमा सहयोग गर्न विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलाई आग्रह गरेका छन् । ‘सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *