कांग्रेस केन्द्रीय समितिमा शिक्षक आन्दोलनबारे छलफल

purna bahadur khadka

काठमाडाैं- सानेपामा बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षक आन्दोलनको विषयबारे पनि छलफल भएको छ।

बैठकमा उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँग सरकारले वार्ता थालेको जानकारी गराएका छन्।

‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ,’ खड्काले भने, ‘शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या समाधान गर्छौं।’

शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको खड्काको भनाइ छ। ‘शिक्षक आन्दोलनले उठाएका सवालका सन्दर्भमा सरकारबाट अग्रसरता लिइरहेको छ,’ उनले भने, ‘समाधान निस्किन्छ।’

उनले यसअघि शिक्षकहरूसँग गरिएका सहमतिबाट सरकार पछि नहट्ने बताएका छन्।

‘शिक्षकहरूको पेसागत अवस्थालाई सुधार र व्यवस्थित गर्न सरकार खुला छ,’ उनले भने, ‘ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ भन्नेबारे छलफल गर्न तयार छौं।’

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले आज बिहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षा विधेयक अपुरो रहेको बताएका थिए। ‘शिक्षकका र कर्मचारीका मागबारे पनि बोल्नुपर्ने अवस्था छ। परिवर्तनका लागि लडेका शिक्षकले पनि संविधानलाई क्रस गर्ने गरी माग राख्छन् भन्ने मलाई लाग्दैन,’ उनले भने।

उनले शिक्षा विधेयकबारे पार्टीले पनि धारणा सार्वजनिक गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *