प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच न्यूयोर्कमा भेटवार्ता, नेपालको शान्ति प्रक्रियाबारे छलफल

काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुरेट्सबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ। राष्ट्रसंघका लागि नेपाली मिसनका अनुसार दुई जनाको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा भइरहेका प्रगतिबारे जानकारी गराउँदै शान्ति प्रक्रियामा राष्ट्रसंघले पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए। साथै प्रचण्डले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा टुंग्याउने केही कामहरू बाँकी रहेको भन्दै त्यसमा पनि राष्ट्रसंघको सहयोग रहने अपेक्षा गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले नेपाललगायत अति कमविकसित देशहरूले भोग्नु परेका समस्याबारे ब्रिफिङ गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न अति कम विकसित देशहरूलाई थप सहयोगको आवश्यकता रहेको बताएका थिए।

भेटमा महासचिव गुरेट्सले नेपालले आफ्नै मोडलमा शान्ति प्रक्रियालाई पूरा गरेको र तार्किक निष्कर्षमा पुर्‍याउन लागेकामा प्रशंसा गरेका थिए। उनले नेपालले विश्वभर शान्ति स्थानपनाका लागि राष्ट्रसंघमार्फत योगदान दिइरहेको भन्दै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका थिए। 

आजै परराष्ट्रमन्त्री एपी साउदले ग्लोबल पार्लियामेन्टेरियन इनक्वारी अन दि प्रोग्रेस अफ फोसिल फ्युल्स फेज आउट प्रोग्रामलाई सम्बोधन गर्दै जिवाष्म इन्धनमुक्त विश्व बनाउनका लागि क्षमता विकास गर्नुपर्ने बताएका थिए। उनले यसको विकल्पमा क्षमता विकास गर्न सरोकारवालाहरू तयार हुनुपर्ने बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्कमा छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *