भारतमा ‘इन्ट्री-लेभल’का ल्यापटप उत्पादन गर्दै इन्टेल, मूल्य घट्ने

Intel in India

काठमाडौं- चिप निर्माता इन्टेलले भारतमा ल्यापटप उत्पादन गर्न त्यहाँका आठ ओटा स्थानीय कम्पनीसँग सहकार्य गर्ने भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार ल्यापटप उत्पादन गर्न इन्टेलले यस्ताे सहकार्य गर्न लागेकाे हो।

यसका लागि इन्टेलले इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ सर्भिस (ईएमएस) र ओरिजिनल डिजाइन म्यानुफ्याक्चर्स (ओडीएम) दुवै खालका कम्पनीहरूसँग सहकार्य गर्नेछ। जसमा भगवती प्रोडक्ट्स, डिक्सन टेक्नोलोजी, केनेस टेक्नोलोजी, ओप्टिमस इलेक्ट्रोनिक्स, पानाचे डिजिलाइफ, स्माइल इलेक्ट्रोनिक्स, सिरमा एसजीएस र भीभीडीएन टेक्नोलोजिज रहेका छन्।

यी आठ कम्पनीहरूसँग आफ्नो विशेषज्ञता प्रयोग गरेर इन्टेलले सस्ताे मूल्य अर्थात् इन्ट्री-लेभलका ल्यापटपहरू उत्पादन गर्ने जनाएको छ। इन्टेलको यस कदमले भारतको डिजिटल अर्थतन्त्रलाई एक खर्ब डलर पुर्‍याउने र इलेक्ट्रोनिक्स उत्पादन इकोसिस्टमलाई २०२५-२६ सम्ममा ३०० अर्ब डलरसम्म पुर्‍याउन सहयोग गर्ने बताइएको छ।

साथै यस कदमले भारतको ‘मेक इन इन्डिया’ अभियानलाई पनि सहयोग गर्ने बताइएको छ।

योसँगै भारतमा निर्मित डिभाइसहरूको प्रदर्शनी गर्ने गरी इन्टेलले नै आउँदो नोभेम्बरमा इन्डिया टेक इकोसिस्टमको शिखर सम्मेलन आयोजना गर्ने भएकाे छ।

पछिल्लो समय प्रविधिका ठूला कम्पनीहरूले आफ्ना उत्पादन भारतमा गर्न सुरु गरेका छन्। हालै गुगलले पिक्सेल ८ फोन भारतमा बनाउने र एप्पलले टाटा ग्रुपमार्फत आईफोन र अन्य उपकरणकाे उत्पादन बढाउने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *