युद्ध सकिएपछि गाजाको समग्र सुरक्षाको जिम्मा इजरायलले लिनेछ: नेतान्याहु

israel palestine war

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजरायलको ‘समग्र सुरक्षा जिम्मेवारी’ रहने बताएका छन् ।

करिब २३ लाख प्यालेस्टाइनीको बसोबास रहेको गाजापट्टीमा इजरायलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा स्पष्ट सङ्केत हो ।  

सोमबार राति प्रसारित एबीसी न्युजसँगको अन्तर्वार्तामा उहाँले अक्टोबर ७ मा इजरायलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २ सय ४० भन्दा धेरै बन्धकमध्ये केहीलाई रिहा गर्न युद्धमा ‘थोरै विराम’ गर्ने विषयमा खुला रहेको बताए । तर, उनले सबै बन्धक नभएसम्म कुनै पनि सामान्य युद्धविरामलाई अस्वीकार गरे । 

सोमबार नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्तापछि व्यापक मानवीय विरामका लागि बाइडेनको आह्वानसँग कुनै सम्झौता नभएको ह्वाइट हाउसले बताएको छ । इजरायली सेना एक साताभन्दा लामो समयदेखि गाजाभित्र प्यालेस्टाइनी लडाकुहरूसँग लडिरहेको छ । सेना आधा क्षेत्रमा घुसेर गाजा शहरलाई घेरेर बस्न सफल भएको छ । 

युद्धको ठूलो मूल्य चुकाउनुपरेको छ । हवाई हमलामा पूरा शहरका ब्लकहरूलाई नष्ट बनाएको छ र करिब ७० प्रतिशत मानिस आफ्नो घर छाडेर भागेका छन् । थुप्रै सर्वसाधारण इजरायली आदेशको पालना गर्दै गाजाको दक्षिणी क्षेत्रतर्फ गएका छन् । गाजामा खाद्यान्न, औषधि, इन्धन र पानीको कमी भइरहेको छ र संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित स्कुल–आश्रयस्थल सर्वसाधारणले भरिएका छन् ।

हमासले सञ्चालन गरेको गाजापट्टीको स्वास्थ्य मन्त्रालयले ४ हजार १ सयभन्दा बढी बालबालिकासहित १० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएको सोमबार बताएको छ । त्यस्तै, २ हजार ३ सयभन्दा बढी सर्वसाधारण बेपत्ता भएका छन् र उनीहरू क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा पुरिएको हुन सक्ने मन्त्रालयले बताएको छ । 

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा अधिकांश सर्वसाधारणसहित करिब १ हजार ४ सयको ज्यान गएको छ । त्यसपछि युद्ध सुरु भएको हो । इजरायलले हमासलाई सत्ताबाट हटाउने र उसको सैन्य क्षमतालाई जरैदेखि उखेल्ने वाचा गरेको छ । 

इजरायलले युद्ध सुरु हुनुभन्दा पहिला ६ लाख ५० हजार मानिसको घर भएको गाजा शहरमा ध्यान केन्द्रित गरिरहेको छ । हमाससँग शहरमा एउटा विशाल सुरुङ सञ्जालसहित व्यापक मात्रामा आतङ्कवादी पूर्वाधार संरचना रहेको इजरायलले बताएको छ । हमासले उक्त सुरुङमा सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरिरहेको इजरायलको आरोप छ । 

हमासको बाटोमा जान नचाहने मानिसहरूले गाजामा शासन गर्नुपर्ने नेतान्याहुले एबीसी न्युजलाई बताए । ‘मलाई लाग्छ, इजरायलले अनिश्चित कालका लागि समग्र सुरक्षा जिम्मेवारी लिनेछ किनकि यस्तो नहुँदा के हुन्छ भनेर हामीले देखेका छौँ,’ उनले भने, ‘हामीसँग त्यो सुरक्षा जिम्मेवारी नहुँदा हामीले देखेको भनेको कल्पना पनि गर्न नसक्ने हमासको आतङ्ककारी विस्फोट हो ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *