विश्वकप छनोट: नेपाल र यमन खेल्दै, दर्शकलाई निःशुल्क बसको व्यवस्था

Nepali football team

काठमाडौं- फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ।

समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ।

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ। तर नेपालले कुनै खेल जित्न सकेको छैन। सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो।

सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए।

यसैबीच नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *