काठमाडौँ- हाम्रो शरीरको सानो अंग हो मिर्गौला। तर हाम्रो समग्र स्वास्थ्यमा यसको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। यसले हरेक ३० मिनेटमा आधा कप रगत फिल्टर गर्छ।
शरीरमा भएका फोहोर पदार्थ, टक्सिन र अतिरिक्त फ्लुइडलाई बाहिर निकाल्ने काम गर्छ। कोशमा उत्पादन भएका एसिडलाई हटाउने र रगतमा पानी, नुन र खनिज तत्त्वबिच स्वस्थ सन्तुलन कायम गर्ने काम पनि यसैले गर्छ। पछिल्लो समय विश्वभर क्रनिक किड्नी डिजिजका बिरामीको संख्या बढिरहेको छ।

मिर्गौलामा कुनै असमान्यता देखियो वा थोरै मात्रै पनि क्षति भएको छ भने त्यसलाई डाक्टरहरुले क्रनिक भनेर भन्ने गरेका छन्। क्रनिकको अर्थ पूरै निको नहुने भन्ने हो। केहीलाई क्रनिकको अर्थ गम्भीर भन्ने लागेको हुन सक्छ । थोरै मात्रै असमान्यता देखिनुलाई पनि क्रनिक नै भनिन्छ।
मृगौलासम्बन्धी रोगको मुख्य कारण के हो?
दुबै मिर्गौला पूरै बिग्रिएर रगत छान्न नसकेपछि क्रनिक डिजिजको समस्या देखिन्छ। मिर्गौलाले सही तरिकाले काम गर्न नसक्दा शरीरमा फ्लुइड र फोहोरको मात्रा निकै बढ्छ। यसका कारण मुटु र स्ट्रोकको समस्या देखिन सक्छ। क्रनिक किड्नी डिजिजका कारण मधुमेह, उच्च रक्तचाप, मुटुको रोग र मोटोपनाको समस्या पनि निम्तिन सक्छ।
साइलेन्ट किलर
मिर्गौलाको रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । शुरुआती चरणमा यसको कुनै पनि लक्षण देखिन्न। समस्या विस्तारै विस्तारै शरीर भित्र बढ्दै जान्छ। रोग पत्ता लगाउन लगातार रगत र पिसाबको परीक्षण गर्नुपर्छ। तपाईलाई उच्च रक्तचाप वा मधुमेह छ भने लगातार रगत र पिसाबको जाँच गराउनुस् ताकि मिर्गौलामा लाग्ने रोगलाई बढ्नबाट रोक्न सकियोस्।
रोगका संकेत
मिर्गौलामा रोग लागेर समस्या बढेपछि भने शरीरमा पनि यसका केही संकेत देखिन थाल्छ। तौल घट्दै जान्छ। भोक पनि कम लाग्छ। घुँडा सुन्नि थाल्छ। सास फेर्नमा समस्या हुन्छ। थकान महसुस भइरहन्छ। पिसाबमा रगत देखिन थाल्छ। लगातार टाउको दुखिरहन्छ।
अन्य चुनौतीहरु
क्रनिक किड्नी डिजजका कारण अन्य समस्याहरु पनि आउँछ। रक्तअल्पता हुन्छ। छिट्टै संक्रमण भइहाल्छ। शरीरमा क्याल्शियमको स्तर कम हुन्छ। पोटाशियम र फोस्फोरसको स्तर बढ्छ।
कसरी बच्ने?
मिर्गौलाको रोगबाट बच्न केही कुरामा विशेष ध्यान दिनुपर्छ। तपाईँको तौल धेरै छ भने तौल कम गर्नुस्। सक्रिय रहनुस्। शारीरिक गतिविधिहरुले रगतमा चिनीको स्तर कम गर्न सघाउँछ। नियमित रुपमा व्यायाम गर्नुस्। धुम्रपान त्याग्नुस्। मिर्गौलाको अवस्था कस्तो छ भने नियमित रुपमा चेकजाँच गराउनुस्। रक्तचाप नियन्त्रित राख्नुस्। नुन कम भएको खानेकुरा खानुस्। पर्याप्त मात्रामा फलफूल र हरियो सागसब्जी, तरकारी खानुस्। रगत र पिसाबको नियमित जाँच गराउनुस्। स्वस्थ जीवनशैली अपनाउनुस्।