हिरासतकक्षमा पुस्तकालय, थुनुवालाई अध्ययनको अवसर

hirasat ma library

महोत्तरी- अब प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेकाहरूले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा पुस्तकालय सञ्चालनमा आएसँगै उनीहरुले सो अवसर पाउने भएका हुन्।

हिरासतकक्षमा स्थापित पुस्तकालयको मङ्गलबार नै नेपाल प्रहरीका मधेस प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरे। स्थापित पुस्तकालयमा नेपाली साहित्यका विभिन्न विधाका गरी तीन सय ९७ पुस्तक राखिएका छन्।

हिरासतमा रहेकाले स्वेच्छिक चासोअनुसार पुस्तक अध्ययनको अवसर पाउने व्यवस्था गरिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयको हिरासतमा अहिले विभिन्न अपराधको अनुसन्धानका क्रममा ५० थुनुवा छन्।

पुुस्तकालय स्थापना र यसको सञ्चालनले थुनुवामा अध्ययन अभिरुचि जगाउन, अध्ययनप्रति लगाव बढाउन, अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुग्ने प्रहरी नायब महानिरीक्षक भट्टराईको विश्वास छ। पुस्तकालय सञ्चालनले थुनुवाको आनीबानी सुधारमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

पुस्तकालय सञ्चालनमा आएसँगै यसको सञ्चालनका प्रहरी जनशक्ति व्यवस्थापन गरी अध्ययनकक्षको चाँजो मिलाइएको प्रहरी उपरीक्षक मल्लले बताए। नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच यसअघि नै सम्पन्न कार्यसम्पादन सम्झौतानुसार ‘हिरासतमा पुस्तकालय’ सञ्चालनमा ल्याइएको मल्लको भनाइ छ।

अहिले नवस्थापित ‘हिरासतमा पुस्तकालय’ लाई आन्तरिक कार्यविधि बनाएर थुनुवालाई निश्चित समय र पढ्ने खुला वातावरण मिलाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *