प्रसाई समूहकाे प्रदर्शन १० बजेदेखि, यी रूट हुन सक्छन् प्रभावित

Durga Prasai Aandolan tayari

काठमाडौँ- दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानको आज हुने भनिएकाे प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुन सक्ने देखिएको छ।

प्रसाईको समूहले बिहान १० बजेदेखि नै सहरका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि राजधानीको ट्राफिक व्यवस्थापन प्रभावित हुने देखिएको हो।

प्रसाईको अभियानले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने स्थान पाएको छ। जिल्ला प्रशासनले उनको अभियानका लागि उक्त स्थान तोकिदिएपछि उसले सहरका ८ स्थानबाट कलंकीतर्फ जुलुस प्रस्थान गर्ने गरी तयारी गरेको छ।

भक्तपुर परीक्षा नियन्त्रण कार्यालय, गोंगबु चोक, स्वयंभू, कलंकी चोक, जावलाखेल, सातदोबाटो, चाबहिल चोकबाट बल्खु जाने गरी जुलुस निकाल्ने तयारी गरिएकाले ती सडकको ट्राफिक व्यवस्थापन प्रभावित हुन सक्ने देखिएको हो।

पनिकाबाट गठ्ठाघर, लोकन्थली, जडीबुटी, कोटेश्वर, ग्वार्कोबाट एकान्तकुना हुँदै बल्खु तर्फको सडक प्रभावित हुन सक्ने आकलन छ। यस्तै गोंगबुबाट सोह्रखुट्टे, ढल्कु र कालीमाटी हुँदै बल्खु, स्वयंयुभूबाट कलंकी रविभवन र कालीमाटी हुँदै बल्खु जाने बाटो प्रभावित हुन सक्ने अनुमान छ।

यस्तै जावलाखेलबाट एकान्तकुना, नख्खु हुँदै धोबीघाट जाने बाटो पनि प्रभावित हुन सक्ने छ। सातदोबाटोदेखि बल्खुसम्मको चक्रपथ क्षेत्र पनि प्रभावित हुन सक्ने छ। यसैगरी चाबहिल चोकबाट गौशाला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, सुन्धारा, त्रिपुरेश्वर, कालीमाटी हुँदै बल्खु पुग्ने बाटो पनि प्रभावित हुन सक्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *