तीनकुने र बल्खु क्षेत्रमा मोबाइल नेटवर्कलाई कमजोर बनाउन जामरको प्रयोग

balkhu protest

काठमाडौं- आज काठमाडौं उपत्यकामा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले प्रदर्शनको आयोजना गरेका छन्।

युवा संघले काठमाडौंको तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा प्रदर्शन गरिरहेका छन्। ति क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुन उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीहरु निस्किएका छन्।

मध्याह्न १२ बजेतिर बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपको स्थिति समेत बनेको थियो । तर अहिले अवस्था सामान्य बनेको छ।

मुख्य दुई प्रदर्शनी क्षेत्र तीनकुने र बल्खुमा सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको छ। ति क्षेत्रमा सुरक्षा निकायले मोबाइल नेटवर्कलाई कमजोर बनाउनका लागि जामरको प्रयोग गरेको छ। जसका कारण ति क्षेत्रमा सहज फोन सम्पर्क हुन सकिरहेको छैन।

जामरको फाइल तस्बिर

बिरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। बिरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए। उपत्यकाको सुरक्षाका लागि करिब १० हजार प्रहरी सुरक्षाका लागि तैनाथ हुनेछन्।

तीन जिल्लाका सुरक्षा निकायलाई परिचालन गर्ने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षाकर्मी तैनाथ राख्ने जनाएको छ।

सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा कमान्ड विशेष सेल गठन गरेको छ। जसमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक तथा नेपाली सेनाका अधिकारीको समेत सहभागिता रहने छ। प्रदर्शन स्थलको सुरक्षा व्यवस्थापनको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखबाट हुने छ।

प्रदर्शनको सुरक्षालाई थप बलियो बनाउन प्रहरीले प्रदर्शन हुने आसपासका सिसी क्यामरा र ड्रोनबाट समेत निगरानी प्रहरीले गरिरहेको छ। विशेष सूचना सङ्कलनका प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयमातहतका अन्य निकायबाट गरी पाँच सयभन्दा बढी सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *