भाटभटेनीको व्यापार: एकै वर्षमा पौने ३० अर्बको कारोबार, थप शाखा खाेल्ने तयारी

Bhatbhateni income

काठमाडौं- सन् १९९२ मा सुपरमार्केटको चेन ल्याएको मिनबहादुर गुरुङको भाटभटेनीले एकै वर्ष पौने ३० अर्बको व्यापार गरेको छ।

अर्थतन्त्रमा देखिएको सुस्तताको समयमा पनि भाटभटेनी सुपरमार्केट र डिमार्पमेन्टल स्टोर (बीबीएसएम)को व्यापारमा उछाल आएको हाे। कम्पनीले सन् २०२३ मा २९ अर्ब ७० करोड (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ। उक्त व्यापार हालसम्मकै उच्च हो।

कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै, कम्पनीले सन् २०२१ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा १९ अर्ब ३६ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीले भाटभटेनीमार्फत विभिन्न वस्तु बिक्री वितरण गर्दै आएको छ। कम्पनीको हालसम्ममा २४ वटा शाखा छन्। साथै, कम्पनीले एउटा शाखा तत्कालै खोल्ने तथा सन् २०२४ को पहिलो त्रैमासिकसम्ममा २ वटा थप शाखा खोल्ने तयारी गरेको छ। कम्पनीले नयाँ खोल्ने योजना बनाएको शाखासहित देशभर भाट–भटेनीको शाखा २७ पुग्नेछ।

मिनबहादुर गुरुङको ६० प्रतिशत र सावित्री घले गुरुङको ४० प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ अर्ब ८७ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब २५ करोड ८१ लाख रुपैयाँ अर्थात् एलबीबी र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६१ करोड २५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ।

कम्पनीले सन् २०२२ देखि २०२३ सम्म ६ वटा शाखाको विस्तार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *