पुन हिलको यात्रा: घरी महाभारतकालीन युग सम्झाउँथ्यो, घरी हिमालका दृश्यमा डुबाउँथ्यो 

sagar joshi blog

-सागर जाेशी

कार्तिक ८ गते  राती ९ बजे झिमिक्क साँझ परेको थियो। खाना खाएर सुत्न तयारी गर्दै थिएँ। त्यसैबेला साथी विकासले फोन गर्दै सोध्यो, ‘तिहारमा पुन हिल घुम्न जाने प्लान बनाएको होइन के भयो? जाने होइन?

उसका प्रश्नले मैले पनि हौसिँदै भनेँ, ‘जाने भए जाऊँ न त। तर, दुबै जना मात्र जाने र?’ मैले विकास लाई सोधेँ। उसले भन्यो, ‘उसो भए म नि साथीहरूलाई सोध्छु। कोही जान इच्छुक छन् कि? तिमी पनि कुरा गर न।’

मैले हुन्छ भन्दै फोन राखेँ। घुम्न जाने त भनियो तर भन्ने बितीकै जान तयार साथी को होला र?

त्यसै बीचमा ठ्याक्कै दिमागमा एक जनाको याद आइहाल्यो सुनिल धामी। मेरो पूर्व सहकर्मी मिडियाकर्मी साथी जो घुम्न र रमाइलो गर्न भनेपछि कहिले पछि हट्दैनन्। मैले कल गरेर सोधेँ, ‘सुनिल हामी त तिहारमा घुम्न जाने प्लान बन्यो। जाने हो त? के छ समय? उनले पनि एउटै शब्दमा कहाँ जान? केही नभनी, ‘म नि एक्लै छु यसपालि काठमाडौंमा। तिहारको बिदा लाई घुमघाम गरेर बिताउन पाए राम्रै हुन्थ्यो। जाऊँ न त।’ यति भनिसकेपछि अब घुम्न जाने तीन जना साथी भइयो र यात्रा पोखरा हुँदै घान्द्रुक बाइकमा जाने कुरा भयो।

बाइकमा जाने भनेपछि एउटा बाइकमा दुई जना अर्कोमा एक जना मात्र !  फेरी एकजना साथीको अभाव खड्कियो । सकेसम्म चार जना जाऊँ सुनिलले भने । अब तीन जना त भइयो । एकजना खोज्नु पर्ने भयो । सुनिलले पनि एकजना दाइको नाम फ्याट्ट लिँदै भने, अस्ति तिहारमा एकजना दाइले घुम्न जाउँ भन्नु भाको थियो जान्छन् की सोध्छु ? सुनिलले ति दाइ सँग कुरा गरेपछि उहाँपनि जाने भन्ने खबर आयो । अब भने चार जना जाने मोटामोटी पक्का भयो ।

घुम्न भनेपछि मन यसै पुलकित मात्रै भएन, पूरै तन पनि तरंगित भएर आयो । विकाससँग फेसबुकको म्यासेन्जरमा यात्राको बारेमा कुरा गरिरहेको थिएँ । ‘दुबै जना मात्र के कुरा गर्नु एउटा ग्रुप च्याट बनाऊँ त्यसमै कुरा गरौँ विकासले भन्यो’,  मैले सहमति जनाउँदै म्यासेन्जरमा ग्रुप च्याट क्रियट गरेँ । च्याटमा यात्राको योजनाको बारेमा कुरा गयौँ । योजना बनिसकेको थियो । एक्कासि गणेशको परिवारमा कुनै गम्भिर समस्या परेको खबर आयो । गणेश दाइ जान चाहेर पनि जान असमर्थ भए ।

भोलि पल्ट बिहानै विकासको कल आयो, ‘के गर्ने अब जाने भनियो तर एकजनाको जान मिलेन । कोही साथी छैन? तिम्रो अरू घुम्न मन पराउने?’ उसले सोध्यो । म सोचेर भन्छु भन्दै फोन राखिदिएँ । म्यासेन्जरमा स्क्रोल गर्दै थिए । सहकर्मी साथी सुजन शर्माको म्यासेज आयो, ‘ओइ के गर्दै छस्? के छ तिहारको प्लान?’ मैले पनि खुसी हुँदै हतपत्त रिप्लाई गरेँ, ‘हामी त घुम्न जाँदै हो । तिमी पनि जाने हो? रमाइलो हुन्छ जाऊ हिँड । ‘भर्खरै प्लान बनाएर जाऊँ पो भन्छौ त ! तयारी छैन । भयो नजाऔँ होला,’ उसले भन्यो । तर, एक छिनको मेरो कन्भिन्सको कसरतले सुजन जान तयार भयो । हुन त उसले मलाई दशैंको बिदामा पोखरा घुम्न जाऊ भन्ने प्रस्ताव नराखेको भने होइन त्यति बेला म बिरामी भएर जाने मेसो मिलेको थिएन । विकास सुवेदी, सुनिल धामी, सुजन शर्मा र म गरि फेरी ४ जनाको टोली तयार भयो ।

विकास विहान १० बजे मलाई लिन मेरो  घर सम्म आयो । उता सुनिलले  सुजन लाई चाबहिल बाट पिक अप गर्यो । यात्रा चाबहिलबाट प्रारम्भ भयो । ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुन हिल स्पर्श गर्न मन आतुर थियौँ ।  स्वप्निल यात्राको कल्पनाले मन प्रफुल्लित थियो । काठमाडौंबाट पोखरा पृथ्वी राजमार्ग हुँदै २ सय एक किलोमिटर दुरीको पहिलो दिनको यात्रा थियो ।

मन र बाइकको रफ्तार उस्तै उस्तै थियो । बाइक धर्तीमा गुडिरहेको थियो । मन उडेर आकाश मार्ग हुँदै पुनहिलतर्फ दौडिरहेको थियो । म्याग्दीसँग मितेरी लगाएको हावाले मनैदेखि चञ्चलता प्रदान गरिरहेको थियो । दायाँबायाँका डाँडापाखा, खोला र हरियालीले हाम्रो यात्रालाई उस्तै रमणीय बनाइरहेको थियो । समय दिउँसोको १ बजेको हुँदो हो । पोखरा पुग्नुअघि गल्छीमा खाना खान ओर्लियौं । खानापछि केही समय आराम गर्यौं र पोखरातर्फ हानियौं । 

काठमाडौँबाट विहान १० बजे दुइ वटा बाइकमा चार जनाले पुन हिलको यात्रा अगाडि बढायौँ । करिब २ घण्टाको यात्रापछि धादिङको गल्छिमा विहानको खाना खायौँ । प्रायः व्यस्त रहने पृथ्वी राजमार्गमा सवारी साधनको न्यून उपस्थितिले होला हाम्रो बाइकको एक्सिलेटर उच्च गतीमै थियो । करिब १ घण्टाको यात्रापछि मुग्लिन पुगियाे । मुग्लिनको एक चिया पसलमा चियाका चुस्किसँगै यात्राको थकान घटायौँ । सँगै चुरोट पारखी साथिहरुले दुइ खिल्ली सुर्यलाई धुवाँमा परिणत गरे ।

त्यतिबेलासम्म समयले दिनको २ बजाइ सकेको थियो । बाइकका ह्याण्डिल पुनः पोखरातिर सोझिए । मुग्लिन पोखरा पृथ्वी राजमार्ग चौडा बनाउने काम भइ रहेको रहेछ । डोजरले राजमार्गका छेउ र भित्ता कोतरेको रहेछ ।

तिहारमय पोखरा 
बाटो धुवाँदार थियो । ठुला गाडिको ओहोरदोहोरसँगै उडेको धुलोले सडक कुहिरोमय हुन्थ्यो । पोखरा पुग्दासम्म हामीले लगाएका कपडा खैरो रङ धारण गरिसकेका थिए । आँखाका परेला तथा कपालमाथि धुलोले एक तला थपिसकेको थियो । हामी पृथ्वी चोक पुग्दा झिसमिसे अध्याँरो भइसकेको थियो । सिधै लेकसाईडतिर हानियौँ । लेक साइडको माहोल तिहारमय थियो । झिलिमिलि बत्तिसँगै चोक-चोकमा देउसीका टोलिहरुले भेटिए । देउसी खेल्नेहरुले लेकसाईडलाई खुला कन्सर्ट झैँ बनाएका थिए । बाराही चोकमा देउसी टोलीले म्यूजिकल व्याण्डसहित लाईभ पर्फम गरिरहेको थियो । अलिपर गुरुङ समुदायको पहिरनमा अर्को टोली नाच्दै थियो ।

पर्यटकीय सिजनमा काठमाडौंपछि नेपालकै सबैभन्दा व्यस्त शहर पोखरामा पर्यटकहरुको घुइँचो थियो, विदेशीहरू देउसी भैलो सँगै रमाइलो गरेको देख्दा लाग्थ्यो साच्चिकै हाम्रो देश सांस्कृतिक र नेपाली मौलिक परम्परामा धेरै अगाडी छ ।

पाेखरादेखि घान्द्रुक

भोलि पल्ट बिहान सूर्योदयसँगै उकालो, ओरालो, भिरालोको यात्रा अगाडि बढ्यौं । घान्द्रुक जान पोखरा बाट सारङकोट नौडाँडा लुम्ले हुँदै नयाँ पुल स्याउले हुँदै जानु पर्ने रहेछ । हामिले पनि त्यहि बाटो पच्छ्यायौँ । बाटोमा आउने माईल स्टोनले हामीलाई कुन ठाँउ आउन कति कि.मि. बाँकि छ भनेर बारम्बार जानकारी दिँदै पुलकित बनाइरहन्थ्यो । साथिहरु बाटोमा देखिने मनोरम दृश्य आँखामा र आ-आफ्ना मोबाईलमा कैद गरिरहे ।

बाटो अफरोड भए पनि जति अगाडि बढ्यो त्यति मनोरम दृश्य । धेरै कठिन बाटो पार गरेर हामी घान्द्रुक पुग्यौ । घान्द्रुक पुग्दा बिहानको ११ बजेको थियो । घान्द्रुक गाउँबीचका खुड्कीला चढ्दै हामी आशिष आमा  होम स्टेमा पुगेर अडियौँ ।  होम स्टे निकै सुन्दर थियो । त्यहाँको हस्पिटालिटि सम्झना लायक नै छ । घान्द्रुक गाउँकाे उत्तर र पुर्वमा मुुसुक्क हाँसेको अन्नपूर्ण र माछापुच्छ्रे । आहा! मनमोहक ।

हिमाल चाहार्दै बिश्रामपछि खानपिन गर्यौँ । खानामा गुन्द्रुक विशेष थियो । त्यसमाथि भर्खरै बनाएको घ्यू । साच्चिकै मिठो थियो खाना । केही बेरको बिश्राम पछि  प्रकृतिक सौन्दर्यले भरपुर घान्द्रुकलाई विदाइ गर्यौँ ।

उकालाे चढेर टाढापानीसम्म 

मोटरबाटोको सुविधा नभएको, टाडा पानीको यात्रा सुखद्र आश्चर्य मिश्रित यथार्थसँग साक्षात्कार भइन्छ । ४ घण्टा  जंगलै जंगल उकालो र तेस्रो बाटो  शितल हावा । त्यही हावामा कावा खाइरहेको स्निग्ध, कञ्चन, सौम्य वातावरण अनि यात्रा अद्भूत थियो । खोलाको कलकल पानी बगेको आवाज, चराचुरूंगीको चिरबीर आवाज । बाटोमा देखिएका झरनाहरू । तल-माथि गरिरहेका असंख्य पर्यटकहरू र सामान ओर्सानका लागि त्यस क्षेत्रमा प्रयोग हुने खच्चडसँगको जम्काभेट लगायतका धेरै कुराहरूले हाम्रो यात्रालाई रमाइलो गराइरहेको थियो । जसले थिन्ले लोन्दुपको ‘क्याराभान’ फिल्मको झझल्को दिन्थ्यो ।

वरिपरिको दृष्य अवलोकन गर्दै वनजंगलका बीच साँझ करिब ५ः३० बजे समुद्र सतहदेखि २६३० मिटरको उचाइमा रहेको टाडा पानी भन्ने स्थानमा पुगियो । त्यहाँ पुग्दा विदेशी पर्यटकहरू होटलमा भरिभराऊ भइसकेका थिए।

होटलकी आन्टी भन्दै थिईन छोराहरु ढिला पुग्यो त हिँड्न सकेनौँ की क्या हो? मैले जबाफ फर्काए आन्टी बिस्तारै बिस्तारै रमाइलो गर्दै आयो अलि ढिला भयो, कोठा छैन र मैले सोधें? मुस्कुराउँदै आन्टीले भनिन् छ नी हाम्रा बाबुहरुलाई आऊ यता म कोठा देखाइदिन्छु भन्दै होटलका कोठातिर लागिन् । हामी पनि उनीलाई फलो गर्दै कोठा हेर्न गयो र त्यही कोठामा बस्ने निणर्य भयो ।

एक छिनको विश्राम पछि हात मुख धोएर आगो ताप्न बनाएको ठाउँ तिर गयो त्यहाँ धेरै जस्तो विदेशी पर्यटकहरू बसिरहेका थिए । कोही बियरको चुस्की सँगै रमाइलो गरिरहेका थिए भने कोही गितारको धुन सँगै गीत गुनगुनाउदै थिए । त्यो परिवेश हेर्दा लाग्थ्यो की जीवन त यिनीहरुकै रमाइलो हो काम गर्दा खटिएर काम गर्ने अनि रमाइलो गर्दा यसरी गरी । धेरै विदेशीहरु ६ महिना मज्जाले काम गर्ने अनि अरु समय घुम घाममा बिताउँदा रहेछन् । नजिकै रहेका ट्रेकिङ्ग गाइडले हामी सँग भन्दै थिए ।

एकछिनको त्यो रमाइलो हेरिसकेपछि विकासले सोध्यो जाडो छ यसो रम खाने हो त केटा हो के छ विचार? प्रस्ताव अगाडी सारे । सुनिलले सहमति ‘जनाउँदै हुन्छ नी त ज्यान तताउँ,’ भने त्यसपछि त सुजन र म पनि कम्पनी दिन तयार भयौँ । सुनिलले मेनू हेर्दै अडर गरे एक हाप बोतल रम अनि सितन । दुई प्याक रम को चुस्की पछि विदेशी सँगै स्वरमा स्वर मिलाउँदै गीत गाउन थाले । गीतको बोल थियो ‘वेल कम टु दि होटल क्यालिफोर्निया’ केही बेरको ठट्टा मजाक अनि रमाइलोपछि खाना अडर गर्यो । घन्टौं हिँड्नुपर्ने यात्रामा शाकाहारी भोजन नै उचित हुने भएकाले भेज खाना खायौं र एकछिनको गफगाफ पछि रूमतिर गयो । 

घोरे पानी-पुन हिलको यात्रा

रातभर थकाई मारेपछि भोलि पल्ट बिहानको सुर्यदयसँगै  त्यहाँबाट घोरेपानीको यात्रामा अगाडी बढ्यौ । कहीँ उकालो, कहीँ ओरालो र कहीँ सम्मो बाटो हुँदै यात्रा लाई अगाडि बढायो । नेपालमा पाइने विभिन्न प्रजातिका गुराँसमध्ये यहाँको जंगलमा मात्र ८ भन्दा बढी प्रजातिका गुराँस देख्न पाइने रहेछ । हामी भने गुराँस फुल्ने समय गुजारेर गएकोले यसको सौन्दर्यताबाट पनि विमुख रह्यौं ।

यात्राको सबैभन्दा रोचक पाटो चाहिँ प्राःय नयाँ साथी फेला पर्थे, खास गरेर विदेशी साथी कोही इजराइल, क्यानाडा, बेलायत, अस्ट्रेलिया, अमेरिका, भारत, चीन लगायतका एकै छिनको गफगाफपछि मित्रता गाँसिन्थ्यो र ती बाटै बाट छुट्थे ।

करिब ४ घण्टा को हिडाइ पछि हामी ११ बजे देउराली पुग्यौँ । एक छिनको  विश्राम पछि खाना खायौँ । खाना खाइसकेपछि १२ बजे  घोरेपानीका लागि अगाडी बढ्यौँ । महाभारतकालमा पाण्डवहरुले यही बाटो हुँदै मुक्तिनाथ दर्शन गर्न पुगेका थिए भन्ने कथा पढेको थिएँ। दिमागमा याद आउँदा मन एकैचोटि महाभारतकालमा पुग्यो ।घोडेपानीमा भएका २२/२३ वटा होटल पूरै भरिभराउ थिए हामीले घोरेपानी बजारमा भएको हिल टप होटलमा त्यो रात बितायौं ।

सनराइज हेर्न विहानै उकालो 
बिहान पाँच बजे मिर्मिरेमै उठेर पुनहिलका उकालाे चढ्न अघि बढ्याैँ । मोबाइलको टर्च लाइटको सहायताले करिब १.५ कि.मिको हिडाइपछि ४५ मिनेटमा पुन हिल पुग्यौं । २६७४ मिटरबाट हामी ३२१० मिटर उचाइमा सूर्य उदयको अद्भूत ‘नजारा’ को दर्शन पायौँ । त्यहाँ पुग्दा साँच्चिकै स्वर्गमा पुगेको आभास भयो । सूर्योदयको आनन्दसँगै धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङखला आँखै अगाडि देखिए । हिमालको नजिक पुगेर तातो चियासँग बिहानीको पहिलो घामका किरणले हिमाललाई चुम्बन गर्दा देखिएका दृश्यले निरन्तर ३ दिनको हिँडाइको थकाइ कहाँ हरायो, हरायो थाहा नै भएन । हामी निकै भाग्यमानी रहेछौं । एक दिन अगाडि नखुलेको हिमाल त्यसदिन चाहिँ खुलेको रहेछ ।

पुन हिलबाट देखिने सूर्योदय र हिमाली दृश्यले हामीलाई नलोभ्याइ राख्न सकेन । मनभरि सजाइरहन मन लाग्यो । त्याे ठाउँ छोडेर फर्कन मन लागेन । चुम्बकले फलामलाई तानेझैं हामीलाई पनि हिमालको त्यो दृश्य अनि त्यहाँको सुन्दरताले तानिरहेकाे थियाे । त्यहाँ पुगेपछि भन्न मन लाग्यो वाह! हाम्रो देश नेपाल अद्भुत छ।

छाेटाे यात्रामा भेटिएका मिठा मान्छेहरू 
जाने बेला घान्द्रुक सम्म बाइकमा गएका हुनाले हामी फेरी बाइक लिन घान्द्रुक जानु पर्ने भयो र फर्किदा गाडीको बाटो भएर जाने निणर्य भयो । घोरे पानी बाट हाम्रो यात्रा बन ठाँटी सम्म अगाडि बढ्यो । हिँड्दै जाँदा बाटोमा ३ जना साथीहरू भेटिए उनीहरू पनि गाडीको बाटो जाने भनेर त्यही बाटो फर्की रहेका थिए । मैले सोधे तपाईँहरू पनि गाडीको बाटो भएर जाने हो । उनीहरू मध्ये एक जनाले भनिन् , हो नी जाने त भनेको २-३ जनालाई गाडी मिल्दैन रे, रिजर्भ गरेर जानु पर्छ । तपाई र हामी मिलेर गाडी रिजर्भ गरेर जाऊ है । हामी नी उनको कुरामा सहमत भयो र यात्रा अगाडि बढयौं । ३ जना बाट अब हामी ७ जना भयौं ।

यात्रामा जति धेरै साथी भइयो त्यति रमाइलो पनि हुन्छ । हामीले पनि नयाँ साथी पायौं अनि रमाइलो गर्दा गर्दै ओरालो बाटो झर्यों । आधा वाटोमा आएर एक छिन् विश्राम गर्यो र त्यही विश्राममा एक अर्काको बिस्तृत परिचय भयो । ममता, बिन्दु र दीपिका स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नर्शहरू रहेछन् । नेपाल सरकारको स्वास्थ्य कार्यक्रम अन्तर्गत दमौलीमा काम गरिरहेको कुरा थाहा भयो । बेला बेला घुम्न उनीहरू लाई पनि औधि मन पर्ने रहेछ । ममता भन्दै थिइन ग्रुपमा साथीहरू भए त निकै रमाइलो हुने है । आउँदा क्या बोर भएको थियो ।

फर्किदा रमाइलो भइरहेको छ । कुराकानीकै क्रममा ममताले एउटा प्रस्ताव अगाडि सारिन, ‘बरु हामी अर्को पटक हामी मुस्ताङ्ग जाऊँ न । गाडी रिजर्भ गरेर तपाईँहरू भएसी सजिलो हुन्छ,’ उनको कुरामा सहमती जनाउँदै सुजन र सुनिल भन्दै थिए, ‘हुन्छ जाऊँ न त जाऊँ, प्लान गरौ ।’ छलफल गर्दागर्दै ह्वाट्स एपमा ‘ग्रुप च्याट क्रेट’ भइसकेको थियो । कुराकानी गर्दै करिब तीन घण्टाको पदमार्ग हुँदै हामी बनठाँटी पुग्यो ।

जीप बुकिङ गरेर नयाँ पुल सम्म सँगै जाने कुरा भयो । जीपभित्र साथीहरू गीत गाउनमा व्यस्त थिए । एक अर्का सँग साम्यपता बढिसकेको थियो । हासी माजाक, ख्याल ठट्टा गर्दै दुई घण्टा बितिसकेछ । दुई घण्टा जीप यात्रापछि हामी नयाँ पुल पुग्यौं । नयाँ पुलबाट हामी छुटिन्नु पर्ने भयो । हामी जाने घुन्द्रकतिर अनि साथीहरू दमौली । अफ रोड भएर बिस्तारै आएपनि समय मिलिक्कै बितेको पत्तै भएन । साथीहरू सँग छुट्टीन मन नै थिएन तर छुट्टिनु र भेट्टिनु प्रकृतिको नियम नै हो । पुनः भेट्ने बाचाका साथ बिदा मागियो ।

घान्द्रुकदेखि काठमाडाैँ

नयाँ पुल पुगेर खाजा नास्ता गर्दै लोकल बसमा घान्द्रुकतिर लाग्याैँ । घान्द्रुक पुग्दा साँझको ५ः३० बजेको थियो । घान्द्रुकमा गुरूङ समुदायको बाहुल्यता रहेको परम्परागत शैलीका घर । गाउँको प्राकृतिक सुन्दरता । अर्गानिक खाना टिपिकल होमस्टे त्यहाँको विशेषता हो । हामी घान्द्रुकको एक होम स्टेमा बस्यौं ।  त्यो रात पनि विशेष रह्यो रमाइलो नाचगान भयो । होम स्टेकी सञ्चालक साइँली दिदीको आथित्यता पनि गजबको थियो ।
भोलिपल्ट बिहानको ब्रेक फास्ट लिएर हामी पोखराका लागि निस्क्यो प्राकूतिक सुन्दरता हावा पानी, वातावरण कला संस्कृति र प्रकृतिक सान्दर्य घान्द्रुकलाई विदाई गरियो ।

पून हिल यात्रा एकदमै रमाइलो, उत्साहपूर्ण रूपमा सुरक्षित तरिकाले सफल भयो। जति हेर्दा पनि नअघाउने चित्ताकर्षक हिमश्रृंखलाको तस्विर र त्यहाँको प्राकृतिक सौन्दर्यताले आँखालाई निकै शितलता प्रदान गर्यो । यी ठाउँहरू सम्म पुग्ने र नजिक पुगेर अभिभूत गर्ने हरेक नेपालीको सपना मात्रै होइन,साकार पार्न सक्ने विपना पनि हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *