गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ

काठमाडौं- दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन्।

प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन्। गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको पुष्टि गरे। उनले भने, ‘भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएका छौं।’

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए। त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए। विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए। त्यसबेला पनि उनी पक्राउ परेका थिए। श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *