६० दिनमा काठमाडाैं महानगरले गर्याे ३ हजार ४६९ कुकुर/बिरालोको बन्ध्याकरण

काठमाडाैं- काठमाडाैं महानगरले ६० दिनमा हामीले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेकाे छ। यस्तै ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको छ।

असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको थियाे।

महानगरकाअनुसार यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिनेछ। ‘हामीले सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन। टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्थापना गरिरहेका छौँ,’ महानगरले भनेकाे छ।

बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाइएको छ।

यसकाे लागि जनस्तरबाट सहयाेगकाे अपेक्षा पनि महानगरले गरेकाे जनाएकाे छ। ‘यसका लागि तपाईँले एअर नोच नभएका कुकुर विराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुहुनेछ। हामी यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ,’ महानगरकाे अपिल छ।

यसका साथै घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा रहेकाे महानगरकाे भनाइ छ। त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ। यसबाट संख्या एकिन भइ जनावरकाे संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको थियाे। साेही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *