बाँकेको दशगजाका ७१  सीमा स्तम्भको मर्मत सुरु

बाँके- मन्त्रिपरिषद्को निर्णयअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत सम्भार र पुनः स्थापना थालिएको छ। बुधवार  नेपालगन्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ (३१) नम्बरको सीमा स्तम्भमा रङ रोगन गरिएको छ।
नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमा स्तम्भमा गरिने रङ रोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताए। विभागबाट प्रतिनिधिका रूपमा आउनुभएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमा स्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनः स्थापनामा सशस्त्र प्रहरी बल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई पूरा गर्नेमा विश्वस्त रहेको बताए।  सीमा स्तम्भको रङ रोगन स्तम्भमा रङ लगाएर नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, भारतीय सशस्त्र सीमा बल नं. ४२ बटालियनका डेपुटी कमाण्डेन्ट अनिल यादव, असिस्टेन्ट कमाण्डेन्ट वासुकी पाण्डेले गरेका थिए।
सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार बाँकेमा मुख्य सीमा स्तम्भ ३२ छन् भने सहायक सीमा स्तम्भ दुई सय ७९ गरी जम्मा सीमा स्तम्भ तीन सय ११  छन्। उनले मर्मत सम्भार तथा रङ रोगन गर्नुपर्ने सीमा स्तम्भअन्तर्गत ३१ वटा सीमा स्तम्भ रङ रोगन गर्न बाँकी रहेका र ४० वटा सीमा स्तम्भ सामान्य मर्मत गर्न बाँकी रहेका बताए। बाँकेमा चार वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ वटा सीमा स्तम्भको रङ रोगन तथा मर्मत भइरहेको छ।
लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्लामा सीमा स्तम्भको मर्मत मर्मत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *