हेल्थ अवार्डबाट सम्मानित मेयर रिसालको ‘गोकर्णेश्वर सपना’

dipak risal

काठमाडौं- केही समयअघि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल हेल्थ अवार्डबाट सम्मानित भए। उनलाई एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरे।

क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले दिने एक लाख रुपैयाँ अनुदानमा थप ५० हजार रुपैयाँ थपिदिने निर्णय पहिलो कार्यपालिका बैठकबाट मेयर रिसालले गरेका थिए। साथै समुदायस्तरमा क्यान्सर परीक्षणको अभियान चलाएको, शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराएको, नगर अस्पतालको विकासमा प्राथमिकता दिएको र ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिएका कारण रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजकको भनाइ थियो।

मेयर रिसालले स्वास्थ्य क्षेत्रमा मात्र हैन, अन्य धेरै क्षेत्रमा राम्रो काम गरिरहेका छन्। नभएका ठाउँहरुमा गर्ने प्रयत्न गरिरहेका छन्। उनको ‘गोकर्णेश्वर सपना’मा शिक्षा, स्वास्थ्यदेखि विभिन्न कामहरु पर्ने गरेका छन्।

हुन त हालका मेयर रिसालसँग यसअघि पनि नगरपालिकाको प्रमुख सल्लाहकार भएर काम गरेका अनुभव छ। ‘मेयर सन्तोष चालिसेको प्रमुख सल्लाहकार हुँदा मैले काम गर्ने तरिका सिकेँ। जनतासँग धेरै परिचित भएँ। हामीले फोहोरमैला व्यवस्थापन, खानेपानीसम्मको काम गर्‍यौँ। विकासका पूर्वाधार निर्माण पनि सुरु गरेका छौं। नगरभित्र थालनी भएको विकासको निरन्तरताका लागि पनि मेरो जित हो,’ उनले भनेका छन्।

जोरपाटी–सुन्दरीजल बाटो विस्तारको काम सक्नेदेखि नगरले अघि सारेका अन्य आयोजना पूरा गर्न उनको नेतृत्वले अग्रसर भूमिका खेलिरहेका छ। सो क्षेत्रको पर्यटकीयदेखि अन्य विकासका लागि पनि उनले योजना बनाएका छन्। यो योजना अबको पाँच वर्षमा कार्यान्वयनमा लैजाने हो, र त्यसपछि गोकर्णेश्वर स्वनिर्भर हुन्छ भन्नेमा उनी विश्वस्त छन्। सुन्दरीजलदेखि शिवपुरीसम्मको पर्यटकीय क्षेत्रदेखि तारेभीरसम्मको विकासका लागि काम गर्ने अठोट उनले चुनाव ताका नै गरेका थिए।

त्यस्तै धार्मिक पर्यटकका लागि गोकर्णेश्वर मन्दिर, उत्तरवाहिनी, सुन्दरीजलको बीपी संग्रहालयलाई पर्यटकीय रुपमा विकास गर्ने योजना अघि सारेको थिए। ‘हामीले १६ करोड रुपैयाँमा पुनःनिर्माण गरेका छौं। यो स्थान अब पशुपतिपछिको धार्मिकस्थल हुने छ,’ उनले चुनावताका अठोट गरेका थिए।

र, आफू यि अठोटबाट पर नभागेका र काम गर्ने प्रयत्न जारी रहेको रिसालको भनाइ छ।

अर्कोतर्फ गोकर्णेश्वर काठमाडौंकै पहिलो नगर हो, जसले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्छ। सिसडोलमात्र होइन अन्यत्र कतै फोहोर पठाउँदैन। नगरपालिकाले जापान पुगेर फोहोर व्यवस्थापनको मोडेल हेरेर मेसिन ल्याएको छ। नगरको फोहोर यहीभित्र व्यवस्थापन हुन्छ। जल्ने फोहोर जलाउने, पुनः प्रयोग हुने र मल बनाउनेजस्ता कार्यक्रम चलाइरहेको छ। यसका अलवा अब नगरभित्रको फोहोर अब घर–घरमै प्रयोगमा ल्याउनेदेखि व्यवस्थापनसम्मका काम गर्ने उनको योजना छ। कौसी खेतीदेखि अन्यमा त्यसको प्रयोग गर्न नगरले नै सहयोग गर्छ। कौसी खेती प्रतिस्पर्धादेखि गृहिणीहरुलाई फोहोर कसरी कम गर्नेसम्मका तालिम हामी दिने रिसालको वाचा छ।

गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ। यसका लागि नगरले गुरुयोजना र रणनीति बनाएर काम गरिरहेको छ। ‘म व्यवस्थित योजनामा काम गर्ने मानिस हुँ। यसले रोजगारी पनि दिन्छ। काम गरेर देखाउँछु,’ उनले भनेका छन्।

साथै शिक्षा क्षेत्रमा पनि पहिलोपटक स्थानीय पाठ्यक्रम सुरुवात गर्ने नगरपालिका हो, गोकर्णेश्वर। यहाँको धर्म, संस्कृति र नैतिकता पढाउनुपर्छ भनेर सुरुवात भएको थियो। अहिले यो किताब लोकप्रिय भएको छ। यो निजी र सरकारी दुवैमा पढाइ हुन्छ। अहिले ८ कक्षासम्म यसको पढाइ हुन्छ। रिसाल सल्लाहकार हुँदा नै १६ वटा माध्यमिक विद्यालयमा नयाँ अभ्यास सुरु गरिएको यो योजनालाई उनले झन तिब्रताका साथ अघि बढाए।

‘शिक्षा र स्वास्थ्यमा हामी राजनीति गर्दैनौं। सबै विद्यालयमा प्राविधिक शिक्षा लागू हुनपर्छ भन्ने मेरो धारणा हो। यसका लागि पनि नगरले अब काम गर्छ,’ रिसालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *