घरेलु टोली आर्सनल लिभरपुलसँग २-० ले पराजित

काठमाडौं । आर्सनललाई २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इमिरेट्स रंगशालामा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले एक गोल गरे । लिभरपुलले अर्को एक गोल घरेलु टिमबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको अन्तिम १० मिनेट बाँकी रहँदा आर्सनलले गोल व्यहोरेपछि पराजित भएको हो । ८०औँ मिनेटमा आर्सनलका जाकुब किविओरबाट आत्मघाती गोल भएपछि लिभरपुलले १–० को अग्रता बनाएको थियो । इन्ज्युरी समयमा डियाजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । यसपछि थप गोल भएन, लिभरपुल २–० को जितसहित चौथो चरणमा प्रवेश गर्‍यो ।

आर्सनलले पहिलो हाफमा दबाब कायम गरे पनि पाहुना टिमविरुद्ध अग्रता बनाउन सकेन । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार बारमा लागेर फर्कंदा काइ हाभार्ट्ज र रेइस नेल्सनले पनि प्राप्त मौकाको सदुपयोग गर्न सकेनन् ।

लिभरपुलले नियमित कप्तान भर्जिल भान डाइक र फरवार्ड मोहम्मद सालाहबिना नै जित निकालेको हो । भान डाइक अस्वस्थ र सालाह अफ्रिका कप अफ नेसन्सका निम्ति इजिप्टमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *