त्रिवि उपकुलपति माग्दै फेरि दरखास्त आह्वान

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान भएको छ  त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको छ । यसअघि निकालेको सूचनामा उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि उक्त सूचना रद्द गरिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति अनुभवसम्बन्धी बुँदा हटाएर दायरा फराकिलो हुने गरी सूचना जारी गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने बताइरहेका छन् ।

त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना सच्याउँदै सोमबार पुन: गोरखापत्रमा त्रिवि उपकुलपति माग गर्दै दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा सूचनासँगै रहेको कार्यविधिमा उल्लेखित दरखास्त ढाँचामा १५ दिनभित्र दरखास्त पेश गर्न समितिले आग्रह गरेको छ ।

त्रिवि उपकुलपति नियुक्ति गर्न ढिलाइ हुँदा कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको  छ । भुसाल त्रिविका शिक्षाध्यक्ष हुन् । उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएको थियो ।

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *