सन्दीप लामिछानेलाई अदालतले आज सजाय तोक्ने

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ । लामिछानेलाई सजाय निर्धारण गर्न काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ ।

पुस १३ गते लामिछानेलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ ।

‘गौशाला २६ (छ) (१) ०७९/०८० को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ।

नेपालको कानुनले धाक, धम्की वा प्रलोभन देखाएर आफूभन्दा कमजोर अवस्था भएको महिलासँग यौनसम्पर्क राखेमा त्यसलाई बलात्कार ठहर गर्छ । पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।

गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको १६ महिनापछि पुस १३ गते फैसला भएपनि दोषी ठहर भएका लामिछानेलाई त्यस दिन सजाय तोकिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *