कोहलीले अफगानिस्तानसँगको पहिलो टी-२० गुमाउने

काठमाडौं । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी-२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि समाचारको पुष्टि गरेका छन् ।

द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका हुन् । कोहली बाँकी दुई टी–२० मा भने टोलीमा समावेश हुनेछन् । कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् ।

भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल बिहीबार मोहालीमा खेलिने छ । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ । प्रशिक्षक द्रबिडले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *