लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज आउँदै

काठमाडौं । चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने कार्ड सकिएपछि करिब ८ महिनादेखि लाइसेन्स छपाइको काम रोकिएको छ ।

आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले बताए ।

उनका अनुसार लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड बिहीबार नेपाल आइपुग्दैछ । ‘कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज कार्ड आइपुग्छ । एक साताको परीक्षणपछि माघको पहिलो सातादेखि लाइसेन्स छाप्न थाल्छौं’, उनले भने।

यस्तो कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो । कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो ।

पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ । बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने महानिर्देशक रिजालले बताए । कार्ड आइपुगेसँगै विभागले दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *