मौसम पूर्वानुमान : यी तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज हल्का वर्षा हुने पूर्वानुमान गरेको हो ।

पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज रातिको मौसम पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *