१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका-५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन् ।

उनीहरूलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीले जानकारी दिए । इन्स्पेक्टर बुढाथोकीका अनुसार अन्य तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन ।

कृषि विकास कार्यालय गमगढीकै सवारी चालक जुम्लाको चन्दननाथ नगरपालिका-७ का ३० वर्षीय पदम बहादुर कठायतसहित तीन जना फरार छन् ।बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो ।

चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो । सोधपुछको क्रममा बालिकाले आफूमाथि पटकपटक बलात्कार भएको घटना प्रहरीलाई सुनाएकी थिइन् । गत असोज १० गते बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए। त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडित जाहेरीमा उल्लेख छ ।

बालिकाको बयान र जाहेरीका आधारमा ५ जनालाई पक्राउ गरिएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए । फरार भएकाहरूलाई पनि प्रहरीले खोजीरहेको छ । पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *