त्रिशूलीमा खसेको गाडीका चालक अझै फेला परेनन्

काठमाडौं । त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेका छैनन् । सोमबार बिहान करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो । बिआर (९ जीसी १४३) बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ । तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल त्रिशूली नदीमा गाडी खसेको थियो । घटनास्थलमा प्रहरी पुग्दा पानीभित्र उज्यालो देखिएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली बोलाएर खोजी गरिएको थियो ।

गोताखोरले पानीभित्र गाडी फेला पारे पनि चालक भने भेटिएनन् । गोताखोरको टोली घटनास्थलबाट फर्किसकेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । प्रहरीले भने उक्त गाडीका चालकको खोजी गरिरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको अर्को गाडीका चालकले त्रिशूली किनारमा धुलो उडिरहेको र ठूलो आवाज सुनेको बताएका थिए ।

कुनै दुर्घटना भएको हुनसक्ने आशंकामा ती गाडीका चालकले नजिकै रहेका प्रहरीलाई खबर गरेको मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *