साहब आलम चम्किँदा कोसीविरुद्ध आर्मीको शानदार जित

काठमाडौं । साहब आलमले ६ विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । आर्मीले बिहीबार भएको खेलमा कोसी प्रदेशविरुद्ध नौ विकेटको सहज जित निकालेको हो ।

मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोसीले प्रस्तुत गरेको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा इमरान शेख र सन्तोष कार्कीले समान ३२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्लले सात बलमा चार चौका र एक छक्कासहित २२ रन बनाए । कोसीका लागि एकमात्र विकेट सुजन तिमल्सिनाले लिए ।

त्यसअघि साहब आलमले ६ विकेट लिएपछि कोसी २४.४ ओभरमा ८८ रनमै समेटिएको थियो ।

कोसीलाई सस्तैमा रोक्न घातक बलिङ गरेको साहबले ६.४ ओभरमा तीन मेडन खर्चिएर ६ विकेट लिए । कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामी र विवेक यादवले समान एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । चार खेल खेल्दा पनि जितविहीन कोसी तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *