नेप्से परिसूचकमा ७ अंकको गिरावट

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार १२ अंकले घटेको नेप्से बिहीबार ७.२४ अंकले घटेर दुई हजार एक सय ५५.८२ बिन्दुमा कायम भएको छ।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि गिरावट आएको छ। आज एक सय १२ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ३३ कम्पनीको मूल्य घटेको छ। २१ करोड कित्ता सेयर आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको छ। बुधबार नौ अर्ब ६६ करोडभन्दा बढीको कारोबार भएको थियो।

बिहीबार फाइनान्स, हाइड्रोपावर र अन्य समूहबाहेक सबै समूहको सूचक घटेका छन्। सबैभन्दा धेरै बढेको अन्य समूहमा १.३० प्रतिशतको बढोत्तरी भएको छ। होटेल तथा पर्यटन समूहमा सर्वाधिक १.४२ प्रतिशतको गिरावट देखिएको छ।

रिडी पावर कम्पनी, सिनर्जी पावर, महिला लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। तेह्रथुम पावर, ग्लोबल आइएमई लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.४३, ७.३० र ७.१९ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। आठ अर्बभन्दा बढीको कारोबार हुँदा आज यस कम्पनीको मात्रै एक अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *