हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ ।

विशेष गरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि निकुञ्ज अभियानमा लागेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेका सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ ।

विगत तीन/चार दिनदेखि टोली परिचालन गरिएको उनले बताए ।

“निकुञ्जको कार्यालयबाट हात्ती धपाउनका लागि थप एक टोली पठाइएको छ”,तिवारीले भने, “यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज धु्रवे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा टोली परिचालन गरिएको उनले बताए ।

“निकुञ्जबाट गएको टोलीसँग गाडीसहित अन्य उपकरण पनि रहेकाले जहाँ हात्ती हुन्छ त्यहाँ पुग्न सक्छन्”, तिवारीले भने, “टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउने काम गर्छ ।”

पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाको आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।

निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो छन् । ती हात्तीले अहिले खासै समस्या नदिएको भए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाउँदै आएका छन् ।

सबैभन्दा लामो दूरी हिँडेर आतङ्क मच्चाउने धु्रवे हात्ती हो । तिवारीले भने, “हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *