महानगरपालिकाले उठायो न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन

काठमाडौं । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो ।

जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको छ । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो । सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *