चराविज्ञ कलाकार हेम पौडेलको निधन

काठमाडौं । वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ हेम पौडेलको निधन भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको गङ्गालाल अस्पतालमा बुधबार साँझ उपचारको क्रममा निधन भएको हो । १९९७ साल वैशाख ४ गते काठमाडौंको बत्तीसपुुतलीमा जन्मनुभएका पौडेलको ८३ वर्षको उमेरमा निधन भएको हो ।

बिहीबार (माघ १८ गते) बिहान शहीद गङ्गालाल अस्पतालमा श्रद्धाञ्जली अर्पणपश्चात् उनको पार्थिव शरीर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हस्तान्तरण गरिएको छ । साहित्यकार निबन्ध आचार्यका अनुसार उनले शरीर दान गर्नुभएकोले पार्थिव शरीर शिक्षण अस्पतालमा लगेर हस्तान्तरण गरिएको हो।

२०३१ सालमा दार्जिलिङमा आफ्नो पहिलो चित्र प्रदर्शनी गरेका पौडेलले त्यसपछि दर्जनौं पटक चित्रकला प्रदर्शनी गर्नुभएको हो। नेपालमा चित्रकलासम्बन्धी लामो अनुभव सँगाल्नुभएका उहाँले साउदी अरबमा पुगेर कमर्सियल आर्टिष्टको रुपमा चार वर्ष काम गरेका थिए ।

डाक्टर रोबर्ट फ्लेमिङको ‘बर्डस् अफ नेपाल’ सँगै जोनाथन लिन्देलद्वारा लिखित ‘नेपाल एण्ड गोस्पाल अफ द गड’ पुस्तकभित्रका सबै चित्र पौडेलले बनाएका हुन् ।

तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रकाशन ‘नेपालका चराहरु’ २०३९ पुस्तकभित्रका सबै चित्र, द हिमालयन बर्डस्, चिल्ड्रेन मेमोरी गेम कार्ड २०६३ का सबै चराका चित्र उनका सिर्जना हुन् । उनका नेपालका चराहरु, द बर्ड्स अफ गड, द हिमालयन बर्ड्स, मेमोरी कार्ड जस्ता चरासम्बन्धी पुस्तक प्रकाशित छन्। सहित्यकारसमेत रहेका उनको शान्तिको आलोक कविता सङ्ग्रह (२०६२) समेत प्रकाशित छ।

राष्ट्रिय प्रतिभा पुरस्कार पाउनुभएका पौडेलले हेमगङ्गा अपाङ्ग कला पुरस्कार, हेमगङ्गा साहित्य कला पुरस्कार, हेमगङ्गा कला रचना पुरस्कारको स्थापना गरेका छन् ।

पौडेलले पछिल्लो समय निवासमा ‘हेम आर्ट ग्यालरीको स्थापना’ गरेर चराका चित्रहरु बनाएका थिए । चित्रकार हेम पौडेलका चित्रकला नेपाल, भारत, जापान, बेल्जियम, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, साउदी अरब, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, चीन र रुसमा सङ्ग्रहित छन्।

पौडेलकी श्रीमती साहित्यकार गङ्गा कर्माचार्य पौडेल, छोरा विश्व र छोरी विनीता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *