‘दलित’सँग प्रेम गरेको भन्दै बाबुले काटे छोरीको टाउको

वीरगंज । बारामा खेताला लगाएर आफ्नै छोरीको हत्या गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलका हरिन्द्र महतो साढे ५ महिनाको अनुसन्धानपछि आफ्नै छोरीको हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेताला खोजेर आफ्नै माईली छोरी कोशिला कुमारीको हत्यामा संलग्न महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

तल्लो जातको युवकसँग प्रेममा रहेको कुरा गाउँँभरी हल्ला भएपछि २ जना सहयोगी खोजेर छोरीको हत्या गरेको र शवको शरीर र टाउको छुट्याएर खोलामा फाल्न लगाएको बयान पक्राउ परेका महतोले दिएको जिल्ला प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

‘तल्लो जातको युवकसँग प्रेममा रहेको हल्ला गाउँभरी फैलिएपछि २ जना सहयोगी लगाएर छोरीको हत्या गरेको बयान महतोले दिएका छन्,’ बाराका प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘गाडीमा राखेर आफैँसमेत मिलेर हत्या गरेको र शवको शरीर र टाउको छुट्याएर इमृतिया खोला किनारमा फालेको महतोले स्वीकार गरेका छन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साले साउन १३ गते अन्दाजी १६÷१७ वर्षको युवतीको विभत्स अवस्थामा शव फेला पारेको थियो । जिल्लाको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको शवबारे साढे ५ महिना लामो अनुसन्धानपछि हत्यामा बुबा र उनैले लगाएको सहयोगीहरु संलग्न रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार छोरीको हत्या लुकाउन महतोले छोरी भागेर बिहे गरेको हुनसक्ने भन्दै उनलाई परिवारले अस्वीकार गरेकोले खोजी नगर्ने बताउने गरेका थिए ।

तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै हत्या

दैनिक ज्यालादारी र आफ्नै थोरै जमिनमा खेतिपाती गरेर जिविकोपार्जन गर्ने हरिन्द्र महतोको ५ जनाको परिवार थियो । २ छोरीसहित, एक छोरा र श्रीमतीसहितको परिवार पाल्न दैनिक श्रम गर्ने हरिन्द्रले कमजोर आर्थिक अवस्थाका कारण माइली छोरी कोशिला कुमारीलाई मामा घरमा राखेर पढाएका थिए ।

महतो हाट बजारमा तरकारी बेच्न जाँदा छोरीले बैठासँग प्रेम सम्बन्ध राखेको हल्ला उनले सुनेका थिए । गाउँ टोलमा छिमेकीले छोरीले तल्लो जातको युवकसँग लागेको हल्ला गरेपछि आफूलाई एकदमै चित्त दुखेको बयान उनले प्रहरीलाई दिएका छन् । छोरीलाई ति युवकसँग नलाग्न पटक–पटक भन्दा पनि आफ्नो कुरा नसुनेपछि हत्याको योजना बनाएको हरिन्द्रलाई उधृत गर्दै एक अनुसन्धान अधिकृतले बताए ।

‘ब्यापक हल्ला चल्न थालेपछि बाध्य भएर साउन ११ गते २ जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिदिएको हौँ,’ महतोलाई उदधृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले भने ।

बाबुको शंकास्पद बयानले खुल्यो पोल

पर्सा प्रहरीले कोशिला कुमारीको शव साउन १३ गते बरामद गरेको थियो । तर, दोषी पहिल्याउन सकेको थिएन । प्रहरीले शवको थप पहिचानका लागि काठमाडौँको टिचिङ अस्पताल पठाएको थियो ।

घटना पर्साको भएपनि सिमावर्ती जिल्ला बारा र पर्सा प्रहरीले शंका लागेको विभिन्न गाऊँ चोकमा दर्जनौँ व्यक्तिसँग शवको बारेमा शोधखोज गरेको थियो । तर, शव फेला परेको ६ महिनापछि बारा प्रहरीले फेटा गाऊँपालिकाको त्रिवेणी टोलमा बस्ने हरिन्द्र महतोका छोरी कोहिसँग फरार रहेको भन्दै गाईँगुईँ सूचना पाए ।

उक्त सूचनालाई पछ्याउँदै जाँदा बाबु हरिन्द्र महतोसँग सोधपुछ गर्दा छोरी भागेको हुनसक्ने बयान दिएका थिए । घरबाट भागेर बिहे गरेको तर ६ महिनासम्म कुराकानी नभएको भन्ने सूचनापछि प्रहरीले बाबुको बयानमै शंका गर्यो । अनुसन्धानमा कोशिला कुमारीको चिनजान भएकाहरुसँग बुझ्दा भागेको भन्दा पनि बेपत्ता पारिएको सूचना प्रहरीले पाए ।

त्यो सूचना र यता बारा प्रहरीले टाउको र शरीर फालिएको भनिएको शवसँग तुलना गर्दा उमेर उस्तै उस्तै भएको तथ्य फेला पार्यो । त्यसपछि प्रहरीले १ सय ५९ औँ दिनमा छोरीको फोटो र हत्यागरी फालिएको शवको फोटो तुलना गर्दा एउटै रहेको फेला पारे । प्रहरीले हत्यामा संलग्न थप सहयोगीहरुको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *