सेयर बजारमा ५ अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । आज ५.३१ अंक घटेर नेप्से परिसूचक २०६१.७० अंकमा कायम भएको छ ।

ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले घटेर ३७३.३२ अंकमा झरेको छ ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ३०७ वटा धितोपत्रको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार केही समूह बढ्दा केही घटे । कुनै पनि समूह १ प्रतिशतभन्दा माथि घटबढ भएन । विकास बैंक २६, फाइनान्स ७, लगानी ०.०७ र निर्जीवन बीमा समूह ५५ अंक बढे ।

त्यस्तै वाणिज्य बैंक २, होटल तथा पर्यटन २७, हाइड्रोपावर १०, जीवन बीमा ५७, उत्पादन ९, माइक्रोफाइनान्स ७, अन्य १८ र ब्यापार समूह १ अंक घटे । १३२ कम्पनीको मूल्य घट्दा १०४ कम्पनीको बढ्यो भने ११ को स्थिर रह्यो । युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय स्थिति राम्रो देखिँदा यस कम्पनीमा आइतबार आकर्षण देखियो ।

त्यस्तै मोलुङ हाइड्रोपावरको ९.४, समाज लघुवित्तको ८.२, भगवती हाइड्रोपावरको ६.७, किसान लघुवित्त वित्तीय संस्थाको ६.६ तथा मेन्छियाम हाइड्रोपावरको ५.८ प्रतिशत मूल्य बढ्यो ।

महिला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । रावा इनर्जीको ५.१, नेपाल वेयरहाउजिङ कम्पनीको ३.७ र मन्दाकिनी हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइनस्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, निफ्रा, ङादी ग्रुप र रिडी पावरले अग्रता कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *