अझै केही दिन मनसुन सक्रिय हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

मौसम पूर्वानुमान महाशाखाले असार २९ सम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ ।

बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।

यी दुवै प्रणालीको प्रभावले २९ असारसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । सोही कारण महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

असार २९ सम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना छ ।

त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *